Category: News

  • सात कोठाबाट सुरू ‘पौवा’ का पुगे १६ होटल, लक्ष्य– १०० पुर्‍याउने

    सात कोठाबाट सुरू ‘पौवा’ का पुगे १६ होटल, लक्ष्य– १०० पुर्‍याउने

    पूर्व होस् या पश्चिम, एकै खालको सेवा दिने होटलमा बस्न चाहनेका लागि ‘पौवा’ विकल्प हुन सक्छ।

    देशभर १६ ठाउँमा पौवा होटल छन्। दसदेखि सय वटासम्म कोठा भएका यी होटलमा बस्न रातको दुई हजारदेखि २० हजार रूपैयाँसम्म लाग्छ।

    पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेका अनुसार अबको १० वर्षभित्र देशभर सय वटा पौवा पुर्‍याउने लक्ष्य छ। यही योजना अनुरूप अहिले कहीँ होटल बन्दैछ त कतै डिपिआरको काम भइरहेको छ। कतै ठाउँ खोजी हुँदैछ।

    ‘दस वर्षमा पौवाका सय वटा शाखा बनाउने हाम्रो उद्देश्य हो,’ उनले भने।

    हाल भैरहवा, बुटवल, तानसेन, रेसुंगा, गोरूसिंघे, भालुवाङ, लमही, घोराही, नेपालगञ्ज, धनगढी, जुम्ला, भरतपुर, मूलकोट, काठमाडौं, पोखरा र कालिन्चोकमा पौवा खुलिसकेका छन्।

    नेपालगञ्जमा चार बिघा जमिनमा एक अर्ब रूपैयाँभन्दा बढी लगानीमा पाँचतारे स्तरको होटल बन्दैछ। यसमा नेपालकै ठूलो क्यासिनो बनाइने ध्रुवले बताए। यहाँ दुई सय रूपैयाँमा खाना पाइने ‘भात भान्सा’ नामक रेस्टुरेन्ट पनि हुनेछ।

    ‘तारे होटल भन्नासाथ महँगो हुन्छ भन्ने सोचिन्छ,’ उनले भने, ‘तर नेपालगञ्जमा हामी दुई सय रूपैयाँमै पेटभर खान सकिने पाँचतारे होटल खोल्दैछौं।’

    त्यस्तै, बुटवलको झिगामारामा तीन सय रोपनी क्षेत्रफलमा रिसोर्ट बनाउने तयारी छ। यो रिसोर्ट कृषि, पुराना घर, झरना, पुल र जंगल समेटेर फरक ढंगले डिजाइन गरिनेछ। यसको डिपिआर तयार हुँदैछ।

    सिन्धुलीको मूलकोटमा पनि ‘बिच रिसोर्ट’ बन्दैछ। यहाँ पानीसँग सम्बन्धित मनोरञ्जनका खेलहरू — बिच भलिबल, बिच म्युजिक लगायत सुविधा हुने उनले बताए।

    ‘सबैभन्दा छिटो शाखा विस्तार गर्ने होटलमध्ये पौवा एक हो,’ ध्रुवले भने।

    देशभरका सबै शाखाको व्यवस्थापन केन्द्रीय कार्यालय बुटवलबाट गरिन्छ।

    पौवा होटलहरूमा विभिन्न समयमा ‘फुड फेस्टिभल’ पनि हुन्छ। बेला बेला खानाको स्वाद मूल्यांकन गर्न सेफलाई शाखाहरूमा घुमाइन्छ। यसले सेवा सुधारसँगै कर्मचारीले सिक्ने अवसर पनि पाउने ध्रुव बताउँछन्।

    ‘पौवा खोल्नुको अर्को उद्देश्य नेपाली आतिथ्यता पस्किनु हो। हामी माघी, देउसी–भैलो, शिवरात्रीका भजन, शिव–पार्वती झाँकीजस्ता परम्परागत नाचगान पनि प्रस्तुत गर्छौं,’ उनले भने, ‘हामी सकेसम्म पर्यटकलाई स्थानीय परिकार चखाउँछौं।’

    यहाँ मौलिक नेपाली परिकारसँगै इन्डियन, चाइनिज, कन्टिनेन्टल र केही थाई फुड पाइन्छ। पौवाका आफ्नै खास परिकार पनि छन् — आलु पौवा, चिकेन पौवा, मरौठी चिकन, पुदिना चिकेन, डिजर्ट खिर, ढिक्री लगायत।

    हाल पौवाका सबै शाखामा गरी एक हजार जनाभन्दा बढीले रोजगारी पाएका ध्रुवले बताए। कर्मचारीहरू अधिकांश युवा भएको र उनीहरूको क्षमता वृद्धिका लागि बेला बेला तालिम दिइने पनि उनको भनाइ छ।

    होटलमा करिब ५० प्रतिशत आगन्तुक आन्तरिक पर्यटक हुन्छन्।

    ‘मध्यम स्तरको होटल भएकाले नेपालीले नै बढी रोजेका छन्। यहाँ बस्न मात्र होइन, विभिन्न कार्यक्रम, भोजन र सांस्कृतिक मनोरञ्जनका लागि पनि आउँछन्,’ उनले भने।

    होटल सञ्चालन गरिरहेको पौवा लिमिटेडले अरू होटलको व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) पनि गर्छ। कोही नयाँ होटलमा लगानी गर्न चाहन्छ तर सञ्चालन गर्न चाहँदैन भने पौवाले सम्हालिदिन्छ। पुरानै होटल सञ्चालनमा पनि विज्ञका रूपमा काम गर्छ।

    होटल र हस्पिटालिटी क्षेत्रमा ध्रुव लागेको करिब तीन दशक भयो।

    ‘यो क्षेत्रमा अभावले नै प्रवेश गरेको हुँ,’ उनलेभ भने।

    उनको परिवार ठूलो थियो। खान, लाउन अभाव हुन्थ्यो। त्यसैले केही काम गर्नुपर्छ भन्ने सोच सानैदेखि थियो। उनका बुबा जहिल्यै व्यवसाय गर्नुपर्छ भन्थे।

    ध्रुवले पनि आफ्नै काम गर्न सके राम्रो हुन्छ भन्ने सोचे। उनका जेठा दाजु गुल्मीमा सानो होटल चलाउँथे। फुर्सदमा ध्रुव पनि सघाउँथे।

    पछि परिवारको सल्लाहमा ध्रुव र उनका माइला दाजुले मिलेर ५० हजार ऋण खोजे र टीकापुरमा सानो होटल खोले। होटल भनेको एउटा त्रिपाल थियो जसको भुइँमा परालको चटाइ बिछ्याए।

    दाजुभाइ आफै पकाउँथे, ग्राहकलाई दिन्थे। होटलमा सधै भिड हुन्थ्यो।

    ‘झुपडीबाट होटलको यात्रा सुरू गरेका थियौं,’ ध्रुवले भने, ‘त्यही झुपडीले संस्थागत विकास गर्न सिकायो। सिद्धार्थ हस्पिटालिटी त्यसकै उपज हो।’

    १७ वर्ष दाजुसँग सिद्धार्थ हस्पिटालिटीमा सहकार्य गरेपछि ध्रुवले केही समय विश्राम लिए।

    उनी नयाँ काम गर्न चाहन्थे।

    ‘जो कोहीले सस्तोमा ताजा र अर्गानिक खान पाओस्, सस्तोमा बस्न पाओस् भन्ने सोचेर नयाँ काम थालेँ,’ ध्रुवले भने।

    उनको यो काममा दुर्गा प्रसाद भण्डारी र विष्णु ज्ञवालीले साथ दिए। दुर्गा पौवाका अध्यक्ष हुन्।

    योजना अनुरूप २०७२ सालमा रूपन्देहीको सालझण्डीमा करिब १२ लाख रूपैयाँ लगानीमा उनीहरूले सात कोठाको गेस्ट हाउस खोले। गेस्ट हाउस राम्रो चल्यो।

    केही समयपछि नै उनीहरूले लमहीमा आठ कोठाको अर्को गेस्ट हाउस खोले। फेरि भैरहवामा १९ कोठाको होटल सुरू गरे। यसमा बोटिङ र स्विमिङ पुलजस्ता सुविधा थपिए।

    यसरी नौ वर्षअघि गेस्ट हाउसबाट सुरू भएको पौवाको यात्रा आज देशव्यापी बनेको अध्यक्ष दुर्गाले बताए।

    ‘एक्लैभन्दा समूहमा काम गर्दा राम्रो हुन्छ भन्ने हाम्रो सोच हो। त्यसैले चेन मोडलमा गएका छौं,’ उनले भने, ‘अबका केही वर्षभित्र पौवा अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गर्ने लक्ष्य छ।’

    This article was originally published by Seto Pati

  • हस्पिटालिटीमा मौलिक ब्राण्ड बन्दै पौवा

    हस्पिटालिटीमा मौलिक ब्राण्ड बन्दै पौवा

    ७ फागुन,बुटवल । रुपन्देहीको सालझण्डीमा गुल्मी हुंगाका ध्रुव न्यौपानेले ६ वर्षअघि ८ वटा रुमबाट सुरु गरेको होटेल पौवा हस्पिटालिटी क्षेत्रमा मौलिक ब्राण्डका रुपमा स्थापित बन्दै गएको छ ।

    पाहुनालाई मौलिक नेपाली आतिथ्य सत्कार र स्वाद पस्कने उद्देश्यले २०७२ सालमा सुरु भएको पौवा छोटो अवधिमै १३ वटा सहरमा पुगेर चेन बिजनेसका रुपमा स्थापित भएको छ ।

    तारे होटेल र रिसोर्टसमेत सञ्चालन गर्दै करिब तीन सय स्तरीय रुमसहित सेवा दिइरहेको पौवा लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै शाखा सञ्जाल भएको होटेल हो । स्थानीय र कर्मचारीसमेत ४९ जनाको ५० करोड बढी लगानी भइसकेको पौवामा ४०० बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार सालझण्डी पछि दाङको लमहीमा १० रुमसहित पौवाको दोस्रो शाखा विस्तार भयो । तेस्रो शाखा भैरहवामा विमानस्थल नजिकै साढे २ बिघा क्षेत्रफलमा बाल उद्यान, २ वटा स्वीमिङ पुल र २० वटा रुमसहित सञ्चालनमा छ ।

    भैरहवामै अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै थप ५ कठ्ठा जग्गामा एक सय रुमसहितको तारे होटेल सञ्चालनको तयारी छ । चौथो शाखा कपिलवस्तुको गोरुसिंगेमा ८ वटा रुमसहित र पांचौं शाखा जुम्लाको खलंगामा २८ रुमसहित सञ्चालन भए ।

    लुम्बिनीको स्थायी राजधानी दाङको भालुबाङमा करिब एक बिघा आफ्नै जग्गामा भवनसहित पौवाको छैठौं शाखा सञ्चालन भयो । त्यहां २ सय जना क्षमताको क्याटरिङ र सेमिनार हलसहित २८ रुम छन् ।

    ३५ रुम र ५ सय जना क्षमताको सेमिनार हलसहित पौवाको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा छ । पाल्पाको तानसेमा २६ रुमसहित आठौं शाखा छ भने गुल्मीको रेसुंगा डांडामा ३५ रोपनीमा बगैंचासहितको पौवा रिसोर्ट सञ्चालनमा छ । त्यहाँ ११ रुम छन् । १० औं शाखा दाङकै घोराहीमा ७ रुमसहित सञ्चालनमा छ, त्यहाँ ३२ रुम बनाउने योजना छ ।

    पोखराको लेकसाइड स्ट्रिट १ मा ४४ रुमसहित ११औं शाखा एक महिनाभित्र सञ्चालनको तयारी छ । यसबाहेक पौवाले धनगढीको चटकपुरमा र चितवनको टांडीमा एक-एक वटा होटेलको व्यवस्थापन जिम्मा लिएर आफ्नो ब्राण्डमा सञ्चालन गरेका छन् ।

    दौरा सुरुवाल र टोपीमा सजिएका कर्मचारीबाट पाहुनालाई सत्कार अनि किचनमा नेपाली परम्परागत परिकारलाई नै प्राथमिकता दिएकाले पौवाले बेग्लै पहिचान बनाएको ब्राण्डिङ एण्ड मार्केटिङ प्रमुख विष्णु भण्डारी बताउँछन् । ‘हामीले हाइजेनिक परिकार र सत्कार दुवैमा मौलिक नेपालीपन दिन्छौं’भण्डारीले भने, ‘लाइभ किचन, पहाडी जिल्लाका अर्गानिक तरकारी, सिन्की,मस्यौरा,नेपाली अचार जस्ता हाइजेनिक परिकार पौवाको पहिचान बनेको छ ।’

    आउँदो ९ वर्षभित्र सात वटै प्रदेशका मुख्य सहरमा शाखा विस्तार गरी सय वटा पुर्‍याउने र ५ हजारजनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य रहेको होटेल पौवा प्रालिका प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ‘१५ वर्षभित्र सात वटै प्रदेशका मुख्य सहरमा सेवा विस्तार गरी सय वटा शाखा पुर्‍याउने र कम्तीमा ५००० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी ‘मिसन १००’ को लक्ष्य छ’ ज्ञवालीले भने, ‘कोरोना महामारीकै बीचमा पाँच सहरमा सेवा विस्तार गर्न सफल भयौं,अबको ९ वर्षमा लक्ष्य पूरा गरेर नेपालको हस्पिटालिटीमा अग्रणी ब्राण्ड बन्छौं ।’

    थोरै थोरै पुँजी भएका धेरै जना मिलेर हस्पिटालिटी र पर्यटन क्षेत्रमा नमूना काम गरौं भनेर पौवामा कर्मचारीलाई समेत सेयर दिएर मालिक बनाएर अघि बढ्दा सफलता मिलेको प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारी बताउँछन् । ‘पौवालाई सीमित व्यक्तिको व्यवसाय नभएर धेरैजनाको थोरै थोरै लगानीको सामूहिक सहकार्यको बेग्लै पहिचान दिन चाहेका छौं’ भण्डारीले भने, ‘होटेलमा क्यारिअर बनाउन चाहने कर्मचारीलाई २ प्रतिशतसम्म शेयर दिएर मालिक बनाएका छौं,अहिलेसम्म २५ जना कर्मचारी लगानीकर्ता भइसके ।’

    होटेल पौवाले सामाजिक क्षेत्रमा योगदान गर्न करिब १० लाखको कुमार कार्की कल्याणकारी कोष स्थापना गरेको र यसै वर्ष यसलाई बढाएर २५ लाख पुर्‍याउने योजना रहेको अध्यक्ष भण्डारीले बताए ।

    This article was originally published by Onlinekhabar

  • होटल पौवा : आतिथ्यमा उत्कृष्ट

    होटल पौवा : आतिथ्यमा उत्कृष्ट

    नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ । देशमा पर्यटक कसरी भित्र्याउन सकिन्छ भनेर सरकार र स्थानीय तह जोडतोडले लागिपरेको छ यतिबेला ।

    भ्रमण वर्ष सफल पार्न भन्दै सरकारी मात्र होइन ठूलादेखि साना व्यवसायी पनि सरकारको यस योजनामा हातेमालो गर्न तम्तयार छन् ।

    हुन त हरेक समयका लागि नेपाल पर्यटनको उत्कृष्ट गन्तव्य हो । तर पनि सरकारले नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्नकै लागि र विश्वसामु नेपालको छविलाई उचाइमा पुर्याउनका लागि पनि सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागेको हो ।

    नेपालको प्राकृतिक सुन्दरता, विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल, नेपाली कला संस्कृति, भेषभूषा, जातजाति अनि रहनसहन पर्यटकलाई आकर्षित गर्ने मुख्य आधार हुन् ।

    नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यमा पहिलो नम्बरमा पर्ने नाम हो लुम्बिनी । लुम्बिनीमा सबैभन्दा धेरै  पर्यटकले भ्रमण गर्ने गरेका छन् । विश्व सम्पदा सूचीमा रहेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै उत्कृष्ट भ्रमण गन्तव्यमध्येको एक हो । लुम्बिनी भ्रमण गर्नेमा बाह्य पर्यटक सँगसँगै आन्तरिक पर्यटक पनि उत्तिकै बढी छन् ।

    बुद्ध जन्मस्थलको महत्त्व अनि आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बढ्दै जाँदा यो क्षेत्र व्यावसायिक हिसाबले पनि अगाडि छ । योसँगै लुम्बिनी र यस आसपासको क्षेत्रमा होटल व्यवसाय मौलाउँदै गएको छ ।

    यो क्षेत्र स्थानीय उद्यमी व्यवसायीको मात्रै होइन अन्य क्षेत्रका उद्यमी व्यवसायीको पनि व्यवसाय विस्तार गर्ने मुख्य गन्तव्य बनेको छ ।

    लुम्बिनीलाई केन्द्र बनाएर ५ नं. प्रदेश सरकारले थप पर्यटकीय क्षेत्रको समेत विकास गर्दैछ । धार्मिक एवं आध्यात्मिक पर्यटनका लागि पाल्पाको भैरवस्थान, रानीमहल, गुल्मीको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली भारतीय पर्यटका लागि समेत गन्तव्य हुन् ।

    बाह्य पर्यटकका लागि कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र बर्दिया एवं बाँके राष्ट्रिय निकुञ्ज यसअघि नै चर्चित गन्तव्य बनिसकेका छन् ।

    रोल्पाको जलजला रुकुमको सिस्ने नयाँ गन्तव्य बन्न सक्छन् । त्यसैले ५ नं. प्रदेशलाई आधार बनाएर यस क्षेत्रमा सुविधा सम्पन्न होटल, रिसोर्ट तथा लजहरुको विकास तीव्र देखिन्छ । व्यापारिक स्थल प्रदेश नम्बर ५ स्थित रूपन्देहीको बुटवल, भैरहवा लुम्बिनी भ्रमण गर्ने पर्यटकहरुको विश्रामस्थल बन्दै गएको छ । 

    भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउनासाथ बाह्य पर्यटकको समेत आवागमन बढ्ने निश्चित छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैदेशिक यात्राका लागि नेपाली युवाकै समेत गन्तव्य बन्ने पक्का छ ।

    त्यसैले यस क्षेत्रमा होटल व्यवसायको भविष्य राम्रो देखिएको छ । अहिले नै लुम्बिनी, भैरहवा, बुटवल केन्द्रित होटल व्यवसाय निकै फस्टाइसकेको छ । होटल उद्योगमा लगानी गर्नेहरु पनि दिन दिनै बढिरहेका छन् । यस्तैमा एक हो– ‘पौवा ग्रुप’ अन्तर्गतको ‘होटल पौवा प्राइभेट लिमिटेड’ । 

    हस्पिटालिटीमा उत्कृष्ट पौवा

    हस्पिटालिटीको क्षेत्रमा भिन्न पहिचान बनाउन सफल पौवा ग्रुपअन्तर्गतको होटल पौवाले प्रदेश नम्बर ५ का पर्यटकीय स्थलहरुलाई मध्यनजर गरी होटल सञ्चालनमा ल्याएको छ ।

    रूपन्देहीको भैरहवाबाट होटल तथा रेस्टुरेन्ट व्यवसाय सुरु गरेको पौवा ग्रुपले प्रदेश ५ का प्रमुख स्थलहरुमा पुग्दा पौवाकै हस्पिटालिटी प्रदान गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ । पौवा ग्रुपले ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारालाई कम्पनीको पहिचानसँग जोडेको छ ।

    तीन वर्षअघि सञ्चालनमा आएको पौवाले आठ वटा शाखा विस्तार गरिसेकेको छ । पौवाले लुम्बिनी क्षेत्रमा मात्रै तीनवटा होटल सञ्चालनमा ल्याएको छ । लुम्बिनी क्षेत्रको भैरहवा, बुटवल, कपिलवस्तुको गोरुसिंगे र दाङको लमहीमा होटल पौवा सञ्चालनमा आइसकेको छ ।

    पाल्पाको तानसेनमा होटल निर्माणको अन्तिम चरणमा पुगेको छ भने स्वर्गद्वारी पर्यटनलाई लक्षित गरी दाङको भालुवाङमा स्विमिङ पुल र फिट्नेस सेन्टरसहितको होटल निर्माणाधीन छ । यसैगरी कर्णाली प्रदेशको गृष्मकालीन राजधानी जुम्लामा पनि यसअघि नै होटल पौवा सञ्चालनमा रहेको छ ।

    प्रदेश ५ र कर्णाली प्रदेशको सम्बन्ध जोड्ने गरी गत वर्षदेखि कर्णाली प्रदेशको जुम्लामा सेवा विस्तार गरिसकेको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवाली बताउँछन् । उनका अनुसार निकट भविष्यमा मुगुको रारामा समेत होटल सञ्चालनका लागि तयारी भइरहेको छ ।

    पौवा ग्रुपले गुल्मीस्थित मुख्य पयर्टकीय स्थल रेसुङ्गामा करिब १० करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट निर्माण सुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० भित्रै सञ्चालनमा ल्याउने गरी रेसुङ्गा नगरपालिकासँग पौवाले हालसालै सम्झौता गरेको छ । ढिलोमा २०७७ असोजबाट रिसोर्ट सञ्चालन गर्ने गरी काम अघि बढाएको छ ।

    रेसुङ्गा धार्मिक र सांस्कृतिक रूपले पनि निकै महत्त्वपूर्ण मानिन्छ । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु रेसुङ्गाको संरक्षित वन क्षेत्रभित्र पर्छन् ।

    पौवाले अतिथि सत्कारलाई मूल मन्त्रका रूपमा लिएको छ । हरेक आगन्तुकको सत्कार गर्नु अनि स्थानीय परिकार र संस्कृतिको उजागर गर्नु पौवाको लक्ष्य रहेको ग्रुपका अध्यक्ष दुर्गाप्रसाद भण्डारी बताउँछन् । ‘पौवाले आफ्ना सबै शाखाहरुबाट ग्राहकहरुलाई अर्गानिक खानाको स्वाद पस्किँदै आएको छ’, अध्यक्ष भण्डारी भन्छन्, ‘नेपाली रैथाने खानालाई व्यावसायिक रूपमा स्थापित गर्नु हामीहरुको लक्ष्य रहेको छ ।’

    पौवा गु्रपले भैरहवामा स्विमिङ पुल, बोटिङ, हेल्थ क्लब, बाल उद्यानसहितको सेवा दिइरहेको छ भने बुटवल, भालुवाङ र रेसुङ्गा लगायतका क्षेत्रमा पनि सोही स्तरको सेवा दिने जनाएको छ । यस्तै, रेस्टुरेन्ट, पार्टी प्यालेस, सभा कक्ष, मिटिङ कक्ष, भीआईपी लन्च कक्ष लगायतको सेवा भने पौवाका सबै शाखामा उपलब्ध भएको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवाली बताउँछन् । 

    त्यसैगरी, होटल पौवा ग्रुपले तराई मधेसको स्वादलाई प्रतिनिधित्व गर्ने भन्दै भैरहवामा पौवा चौतारीको पनि सुरुवात गरिसकेको छ । पौवा चौतारीले मौलिक नेपालीपन सहितका साकाहारी व्यञ्जन, मिठाई तथा तराई मधेसका परिकारहरु उपलब्ध गराउँदै आएको छ ।

    पर्यटकीय क्षेत्रमा पौवा प्याकेज

    पौवा ग्रुपका अनुसार पाल्पाको सुन्दर दृश्यावलोकनसहित रानीमहल घुमेर पौवा इन तानसेनको बसाइसँगै गुल्मीको रेसुङ्गामा पौवाकै सेवा उपभोक्ताले पाउनेछन् । अर्थात लुम्बिनीदेखि लुम्बिनीसम्मको पर्यटन प्रवद्र्धनको नारामा पौवाले आफ्नोसमेत भूमिका जोड्न खोजेको देखिन्छ ।

    लुम्बिनीबाट भैरहवा–बुटवल हुँदै पाल्पाका पर्यटकीय क्षेत्रको भ्रमण गर्दै तानसेनमा बसेर गुल्मीको रेसुङ्गा समेत भ्रमण गर्न चाहनेका लागि पौवाले प्याकेज निर्माण सुरु गरेको छ । यो प्याकेजमा रेसुङ्गाबाट अर्घाखाँचीको सुपादेउरालीको दर्शन गर्दै गोरुसिङ्गे पुगेर त्यहाँबाट तिलौराकोट लुम्बिनी हुँदै पुनः भैरहवास्थित पौवामा बास बस्ने सुविधा मिल्नेछ ।

    यस्तै, गोरुसिङ्गेबाट दाङको भालुवाङ हुँदै प्युठानको स्वर्गद्वारी भ्रमण पूरा गरी पुनः भालुवाङ बस्न चाहनेहरुका लागि समेत व्यवस्था मिलाउन लागेको प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिए । पौवाले ५ नं. प्रदेशका अधिकांश पर्यटकीय स्थलहरुलाई समेट्ने गरी प्याकेज बनाएको छ ।

    ‘नेपाल सरकारको भ्रमण वर्ष र प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुद्ध सर्किट अन्तर्गत रूपन्देही र कपिलवस्तुमा मात्र ३ वटा, पाल्पामा १, गुल्मीमा १ र दाङमा २ वटा शाखाबाट नेपालीपनको सेवा प्रदान गर्छौं, पौवाका अध्यक्ष भण्डारी बताउँछन् ।

    ‘नेपाल भ्रमण वर्ष २०२०’ विशेष योजना

    पौवा ग्रुपले ‘नेपाल भ्रमण वर्ष २०२०’ र प्रदेश ५ सरकारको ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ लाई दृष्टिगत गर्दै सेवा विस्तारलाई तीव्रता दिएको छ । भ्रमण वर्षलाई सफल बनाउन पौवाले मौलिक नेपालीपन सहितको सेवा दिने दाबी गरेको छ ।

    नेपालमा सञ्चालित अधिकांश होटलमा पश्चिमा, इन्डियन र चाइनिज हस्पिटालिटीको करिब करिब वर्चश्व रहेको छ । तर पौवामा पुग्ने ग्राहकले आतिथ्यतादेखि खानपान बसाइ र वातावरणमा समेत नेपालीपनको झल्को पाउने पौवाका अध्यक्ष भण्डारीको दाबी छ ।

    अध्यक्ष भण्डारी भन्छन्, ‘लुम्बिनी आउने पर्यटकहरुको बसाइ लम्ब्याउन भैरहवा र बुटवलमा नेपाली हस्पिटालिटीसहित विदेशी पर्यटक लक्षित होटल सञ्चालनमा ल्याइएको छ’, उनी थप्छन्, ‘सालझण्डी, गोरुसिंगे, लमहीमा मध्यम वर्गीय आन्तरिक पर्यटकको समेत पहुँच हुने गरी सुविधा सम्पन्न होटल सञ्चालन गरिएको छ ।’

    This article was originally published by Rato Pati.